रमिला योन्जन

असार ६, भैरहवा: लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को सन्दर्भमा रुपन्देहीको भैरहवामा सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन गरिएको छ। जिल्ला प्रशासन कार्यालय भैरहवाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा आयोजित कार्यक्रम सिद्धार्थनगर–५ स्थित जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको हो। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, सुरक्षानिकाय प्रमुखहरू, विभिन्न सरकारी तथा गैह्रसरकारी संस्था, राजनीतिक दल, सञ्चारकर्मी तथा सुधार केन्द्रका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रममा प्रहरी निरीक्षक सुमन गैह्रेले लागुऔषध दुरुपयोग तथा ओसारपसारका चुनौती र समाधानबारे प्रस्तुतिकरण गरेका थिए। सप्ताहभरिको अभियान अन्तर्गत जनचेतनामूलक गतिविधिहरू सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।