१४ वैशाख, काठमाडौं । यसअघिका २५ दिनजस्तै आज पनि बिहानै ११ बजे माइतीघर मण्डलामा भेला भए । सधैंजस्तो विद्यालय शिक्षा ऐनको माग राख्दै उनीहरू बबरमहलको सडक हुँदै नयाा बानेश्वरतर्फ लागे ।

शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, बानेश्वर निषेधित क्षेत्रभन्दा धेरै अगाडि शिक्षक नेताहरूले भाषण गर्ने मञ्च थियो ।

प्रहरी तैनाथ भएको ठाउँसम्म शिक्षकहरू पुग्ने र फर्किने क्रम चलिरहेको थियो ।

‘भीडलाई संयम बनाउन स्वयंसेवकको टोली परिचालन गरेका छौं । भीडलाई निषेधित क्षेत्रमा जान नदिन स्वयंसेवक प्रहरीभएतर्फ जाँदै थिए । त्यहीबेला स्वयंसेवकमाथि प्रहरीले प्रहार गर्‍यो,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘हाम्रो स्वंसेवक पदम पटेलालाई प्रहरीबाट कुटपिट भयो ।’

उनको आँखामा गहिरो चोट लागेको उनले बताइन् । त्यहीबेला प्रहरीमाथि पनि ढुंगा प्रहार भयो । महासंघले त्यो ढुंगा प्रहार शिक्षकबाट नभएको दाबी गरेको छ ।

‘त्यही बेला हेलमेट लगाएको केही व्यक्तिले ढुंगा प्रहार गरेको पाइएको छ,’ सहअध्यक्ष पराजुलीले भनिन्, ‘आन्दोलनलाई उत्तेजित बनाउन घुसपैठ गरेर ढुंगा प्रहार गरियो । प्रहरीबाट पानीको फोहरा प्रहार भयो ।’