जनार्दन शर्माको साथ छोडेका श्रेष्ठ र कार्की माओवादी–एससहित ९ दलको एकतामा संलग्न
काठमाडौं– नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित नौ कम्युनिष्ट दलबीच एकता हुने भएको छ ।
यससँगै माओवादी केन्द्रले ३२ वर्षपछि ‘माओवाद’ परित्याग गर्दै ‘मार्क्सवाद–लेनिनवाद’लाई मार्गदर्शक सिद्धान्तका रूपमा अपनाएको छ ।
२०५० सालमा स्थापना भएको माओवादीले अब आफ्नो पुरानो हँसिया–हथौडाको प्रतीक त्यागी पाँचकुने तारालाई नयाँ निर्वाचन चिह्न बनाउनेछ ।
एकीकृत पार्टीको नाम अझ टुंगो लाग्न बाँकी छ, तर नेताहरूबीच ‘नेकपा (समाजवादी)’ राख्ने सहमति रहेको बताइएको छ ।
आगामी १९ कात्तिकमा ‘एकता राष्ट्रिय सम्मेलन’ गर्दै पार्टी एकीकरणको औपचारिक घोषणा गरिनेछ ।
एकता सहमतिपत्रअनुसार पार्टीको सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ र कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुनेछ ।
तत्कालीन कार्यनीतिमा राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरणमार्फत समाजवादको आधार तयार गर्ने उल्लेख छ ।
आन्दोलनको स्वरूप शान्तिपूर्ण रहने र आवश्यकता अनुसार सडक, सदन र सरकार सबै मोर्चामा संघर्ष सञ्चालन गर्ने सहमति भएको छ ।
केन्द्रीय संरचनामा संयोजक र सहसंयोजक प्रणाली रहनेछ ।
प्रारम्भिक सहमतिअनुसार प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक हुनेछन् ।
सबै तहका संगठनहरूमा पनि यही संरचना लागू गरिनेछ ।
तर, झलनाथ खनाल, घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरू एकता प्रक्रियामा सहभागी नहुने भएका छन् ।
असहमत नेताहरूले छुट्टै समूह बनाएर पछि एकता प्रक्रियामा सहभागी हुने संकेत दिएका छन् ।
त्यस्तै यसअघि माओवादी केन्द्रमा जनार्दनलाई काँधमा बोकेर प्रचण्डको विरोध गर्ने नारायणकाजी श्रेष्ठ र राम कार्कीले उनको साथ छोडेका छन् ।
श्रेष्ठ र कार्की माओवादी–एकीकृत समाजवादी लगायतका नौ दलसँगको एकतामा सामेल भएका छन् ।


