शरतसिंह भण्डारीलाई मन्त्रीबाट किन फिर्ता गर्दैछ लोसपा ?

सधैं सत्ता र शक्तिको नजिक रहने शरतसिंह भण्डारीलाई लोसपाले मन्त्री पदबाट फर्ता बोलाउने तयारी गरेको छ । भण्डारीको एक वर्षे कार्यकाल सकिएलगत्तै पद हस्तान्तरण गर्ने पूर्वसहमति अनुसार श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयबाट फिर्ता गर्न लागिएको लोसपाले जनाएको छ ।
२० साउन, काठमाडौं । पञ्चायत कालदेखि आजसम्म लगातार मन्त्री हुने थोरैमध्येका एक पात्र हुन्, शरतसिंह भण्डारी । उनी आबद्ध दल सरकारमा जाँदा भण्डारीले मन्त्री बन्ने अवसर पाउँदै आएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कांग्रेस हुँदै मधेश केन्द्रित दलमा लागेका भण्डारीका लागि मन्त्री पद कहिले पनि टाढा रहेन । हालसम्म १३ पटक मन्त्री बनेका उनी गत निर्वाचनपछि मात्रै दुईपटक मन्त्रिपरिषद्का सदस्य बने ।
२०७९ निर्वाचनपश्चात दुईपटक मन्त्रालय सम्हाल्दा उनको रोजाइ बन्यो– श्रम, रोजगार तथा सामाजिक सुरक्षा ।
निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दुईपटक परिवर्तन गरे । एमालेसँग सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेससँग सत्ता समीकरण बनाउँदा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी भयो ।


