इलन मस्कले डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुको कारण एस्तो छ।

इलन मस्कले डोनाल्ड ट्रम्पलाई समर्थन गर्नुको पछाडि गहिरो आर्थिक, रणनीतिक, र राजनीतिक उद्देश्यहरू छन्, जुन केवल एक व्यवसायिक निर्णय होइन, बरु अमेरिकी प्रशासनमा दीर्घकालीन प्रभाव र पहुँच सुनिश्चित गर्नका लागि उठाइएको महत्वपूर्ण कदम हो।
आर्थिक लाभ र कर नीति:
सबैभन्दा पहिले, ट्रम्पका प्रस्तावित कर कटौती नीति व्यवसायीहरूको आर्थिक लाभमा केन्द्रित छन्। ट्रम्पले स्पष्ट रूपमा आफूलाई “प्रो-बिजनेस” उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्, जसले अर्थतन्त्रमा निजी क्षेत्रको बलियो उपस्थिति र वृद्धि चाहन्छन्। ट्रम्पको नीति अनुसार, कर कटौतीले ठूला व्यवसाय र धनाढ्य व्यक्तिहरूलाई प्रत्यक्ष फाइदा पुर्याउनेछ।
उदाहरणका लागि, इलन मस्कजस्ता व्यवसायी, जसको नेटवर्थ २६० बिलियनभन्दा बढी छ, तीव्र रूपमा लाभ उठाउन सक्छन्। यदि कर दरमा केवल १% मात्र कमी आउँदा पनि, यसले उनलाई करोडौं डलर जोगाउन सकिन्छ। यो रकमले टेस्ला, स्पेसएक्स, र अन्य मस्कका परियोजनाहरूलाई अझै ठूलो आर्थिक आधार दिनेछ। यस्तो परिवेशमा, ट्रम्पलाई समर्थन गर्नु मस्कका लागि ‘सामान्य’ भन्दा माथि ‘रणनीतिक’ निर्णय बन्छ।
धेरै अवसर सिर्जना :
जब एक धनी व्यवसायीले करोडौं डलर राजनीतिक दान वा समर्थनमा लगानी गर्छ, उनी त्यसलाई केवल ‘सहयोग’को रूपमा होइन, बरु दीर्घकालीन फाइदा हुने नीतिगत लगानीको रूपमा हेर्छन्। ट्रम्पको एजेन्डा र कर नीतिहरू इलन मस्कको कम्पनीहरूलाई प्रत्यक्ष लाभ दिन सक्छ। उदाहरणका लागि, एउटा मात्र ‘बिजनेस-फ्रेन्डली’ नीति कार्यान्वयनमा आउँदा मस्कका उद्योगहरूको मूल्य र लगानीमा व्यापक वृद्धि हुन सक्छ। यस प्रकारको समर्थनले इलन मस्कजस्ता व्यवसायीलाई नीतिगत निर्माणमा प्रत्यक्ष पहुँच दिलाउन सक्छ, जसले भविष्यमा थप लाभका अवसरहरू सृजना गर्न सक्छ।
राजनीतिक महत्त्वाकांक्षा:
इलन मस्कको व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षाहरू पनि छन्। यस्ता दाबी गरिन्छ कि उनी निकट भविष्यमा अमेरिकी प्रशासनको कुनै ठुलो पदमा, सम्भवतः मन्त्री पदमा पनि पुग्न चाहन्छन्। यसबाहेक, उनले कुनै दिन राष्ट्रपति पदमा पनि उम्मेदवारी दिने योजना बनाउन सक्छन् भन्ने चर्चा छ। राजनीतिक जगतमा एक स्थापित र प्रभावशाली व्यक्तिसँग राम्रो सम्बन्ध राख्नाले उनको भविष्यको राजनीतिक यात्रा सहज बनाउन सक्छ। ट्रम्पसँग निकट सम्बन्ध स्थापित गर्नु, मस्कको भविष्यका योजनाहरूमा महत्वपूर्ण आधार बनाउने एउटा ‘मास्टरस्ट्रोक’ हुन सक्छ। ट्रम्प जस्ता प्रभावशाली नेता र मस्कबीचको तालमेलले उनलाई भविष्यमा अझै बलियो राजनीतिक शक्ति प्राप्त गर्न मद्दत गर्न सक्छ।
व्यक्तित्व र शैलीमा समानता:
व्यक्तिगत स्वभावको हिसाबले पनि इलन मस्क र डोनाल्ड ट्रम्पबीच धेरै समानता देखिन्छ। दुवै विवादास्पद, अनौठा, र प्रायः आफ्नो व्यक्तिगत विचारलाई निडर र स्पष्ट रूपमा राख्ने खालका छन्। ट्रम्पले व्यवसायिक क्षेत्रमा यस्तै ‘बोल्ड’ निर्णयहरू गर्न सधैं तत्पर रहेको देखाएका छन्। मस्क पनि त्यस्तै सन्देशहरू र व्यक्तित्वका लागि प्रख्यात छन्। यसरी, उनीहरूको सम्बन्ध केवल आर्थिक वा राजनीतिक मात्र नभई स्वभाव र दृष्टिकोणमा पनि मिल्दोजुल्दो छ।
ट्रम्पको विवादास्पद छवि र समर्थनको ‘अचम्म’
डोनाल्ड ट्रम्पको छवि भने विवादास्पद र विभाजित रहेको छ। उनले आफ्नो भाषणहरूमा महिलाहरू र आप्रवासीहरूको बारेमा कडा र विभेदपूर्ण अभिव्यक्तिहरू दिएका छन्। कतिपय अवस्थामा त उनका अभिव्यक्ति नस्लीय र अपमानजनक मानिएका छन्, जसलाई कुनै विकसित लोकतान्त्रिक देशमा अस्वीकार्य मान्न सकिन्छ। कतिपय यूरोपेली मुलुकमा यस्ता अभिव्यक्तिले राजनीतिज्ञको करियर नै समाप्त गराउन सक्छ। तर, आश्चर्यको कुरा के छ भने, यस्ता विभाजनकारी अभिव्यक्तिहरूका बाबजुद पनि उनले आप्रवासी र महिलाबाट समेत उल्लेखनीय समर्थन पाएका छन्। उनको आक्रामक शैली र विवादित बयानबाजीले पनि उनको लोकप्रियता घटाउने भन्दा बढाएको देखिन्छ, जुन एक प्रकारको ‘वैश्विक अचम्म’ नै मान्न सकिन्छ।

चर्चा र लोकप्रियता:
जति धेरै विवादास्पद कुरा, जति आक्रामक अभिव्यक्ति, र जति चकचकपूर्ण जीवनशैली, त्यति नै बढी चर्चा र समर्थन – यो ट्रम्पको राजनीतिक ब्रान्डको प्रमुख विशेषता हो। ट्रम्पको समर्थन गर्दा, इलन मस्कले आफ्नो ब्रान्डमा पनि उत्साही र विद्रोही व्यक्तित्वलाई प्रस्तुत गर्न सक्छन्, जसले उनलाई विभिन्न समर्थकहरूसँग जोड्न सहयोग पुर्याउँछ।
यस प्रकार, ट्रम्पको समर्थन गर्दै मस्कले आफूलाई मात्र फाइदा नभई आफ्ना भविष्यका योजना र महत्त्वाकांक्षामा पनि बल पुर्याइरहेका छन्।


