१८ असोज, काठमाडौं । बाढीपहिरोका कारण आपूर्ति असहज हुँदा कालीमाटीमा गोलभेँडा महँगिएको छ ।

हाल ठूलो गोलभेँडा भारतबाट आयात हुने गर्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठूलो गोलभेँडा शुक्रबार प्रतिकिलो १५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनसम्म प्रतिकिलो अधिकतम १३० रुपैयाँ थियो ।

सानो गोलभेँडा पनि अघिल्लो दिनभन्दा २६ प्रतिशत महँगिएको छ । सानो गोलभेँडा प्रतिकिलो अधिकतम १०० रुपैयाँ पुगेको छ भने टनेलको सानो गोलभेँडा १२५ रुपैयाँ छ । कालीमाटी बजारमा शुक्रबार आलु, गाजर, भन्टा, बोडी, तिते करेला, घिरौंला पनि महँगिएको छ । फर्सी र परवर केही सस्तिएको छ ।

कालीमाटीमा यस दिन प्याज प्रतिकिलो अधिकतम १३० रुपैयाँ पुगेको छ, अघिल्लो दिन १२५ रुपैयाँ थियो । रातो आलु ८५, स्थानीय काउली ६०, भन्टा ८०, घिउ सिमी १३०, टाटे सिमी ९०, पाकेको फर्सी ६५, हरियो फर्सी ७०, भिण्डी १२०, बरेला (चुच्चे करेला) १३०, रायो साग १२० रुपैयाँ छ ।
कन्य च्याउ २२०, डल्ले च्याउ ४२० तथा कुरिलो अधिकतम ६०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।