नेपाल र चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौताको म्याद पोहोरै सकिए

११ मंसिर, काठमाडौं । नेपाल र चीनबीचको बीआरआई फ्रेमवर्क सम्झौताको म्याद पोहोरै सकिएको कागजातले देखाएका छन् । सात वर्षअघि १२ मे २०१७ मा काठमाडौंमा तत्कालीन परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच बीआरआई फ्रेमवर्क सम्झौता (एमओयु अन कोअपरेसन अन्डर द बेल्ट एन्ड रोडड इनिसियटिभ) भएको थियो ।
त्यसअघि दुई मुलुकबीच संयुक्त वक्तव्यमा नेपालले बीआरआई फ्रेमवर्कमा सहमति जनाएको उल्लेख भए पनि आधिकारिक सम्झौता भने भएको थिएन । २०१७ को त्यही सम्झौतामार्फत नै नेपाल आधिकारिक रुपमा बीआरआईको पक्ष राष्ट्र बनेको थियो । तर, सम्झौतामा उल्लेख प्रावधानअनुरुप नै यो सम्झौताको म्याद गत वर्ष अर्थात ११ मे २०२३ मा सकिइसकेको छ ।
बीआरआई फ्रेमवर्क सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू हुने र तीन वर्षका लागि लागू हुने सम्झौताको दफा ५ को उपदफा १ मा उल्लेख छ । कुनै पक्षले सम्झौताको म्याद सकिन तीन महिनाअघि नै सम्झौता खारेज गर्ने जानकारी नदिएको अवस्थामा सम्झौता अर्को तीन वर्ष (एनोदर थ्री इयर्स)का लागि नवीकरण हुने सम्झौतामा उल्लेख छ ।


