एन्ड्रोइडले चोर्यो आईओएसको फिचर, अब नयाँ एन्ड्रोइड फोनमा छुट्टै अकाउन्ट लगइन गरिरहन नपर्ने

काठमाडौं । फोन परिवर्तन गर्नुपर्यो वा फोन फ्याक्ट्री रिसेट गर्नुपर्यो भने सबैभन्दा बढी सताउने पक्ष भनेकै लगइन क्रेडेन्सियल हो । नयाँ फोन तथा फ्याक्ट्री रिसेट गरिएको फोनमा सुरुवातदेखि नै सबै अकाउन्ट साइनअप गर्नुपर्ने बाध्यता हुन्छ । यसैले पनि नयाँ फोन लिन वा फोन फ्याक्ट्री रिसेट गर्नुअघि प्रयोगकर्ता कसरी सबै साइनअप गर्ने भन्नेमा सोच्न बाध्य हुन्छन् ।
यसैलाई मध्यनजर गर्दै गुगलले ‘रिस्टोर क्रेडेन्सियल’ नामको फिचर ल्याउने भएको छ । कम्पनीले हालै एन्ड्रोइड डेभलपर ब्लगमा पोस्ट राख्दै नयाँ फिचर ल्याउने घोषणा गरेको हो ।
यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले नयाँ वा रिस्टोर गरिएको एन्ड्रोइड फोनमा छुट्टाछुट्टै अकाउन्ट साइनअप गरिरहन पर्दैन । यसले कसरी काम गर्छ त ? सबैभन्दा पहिले जब प्रयोगकर्ताले एन्ड्रोइड फोनका एप अकाउन्टमा साइनअप गर्छन्, त्यतिबेला उक्त एपको डेभलपरले एउटा ‘रिस्टोर की’ तयार पारिदिन्छन् । त्यसपछि उक्त ‘रिस्टोर की’ डिभाइसमा भण्डारण हुन्छ ।
यदि प्रयोगकर्ताले एपको डेटा ब्याकअपका लागि क्लाउड अप्सन छानेका छन् भने ‘रिस्टोर की’ क्लाउडमा स्टोर हुन्छ । त्यसपछि जब प्रयोगकर्ताले नयाँ डिभाइसमा ब्याकअपबाट रिस्टोर गर्न थालेपछि एपको डेटा र रिस्टोर की त्यसमा ट्रान्सफर हुन्छ । अर्थात् प्रयोगकर्ताले डिभाइसमा रिस्टार्ट गरी हरेक एपमा साइनअप गरिरहन पर्दैन ।


