सरकार नै एमालेको नेतृत्वमा भएका कारण अधिकारीमाथि निष्पक्ष छानविन हुनेमा आशंका रहेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् ।

२३ कात्तिक, विराटनगर । मानव तस्करीको गम्भीर विवादमा मुछिएपछि बुधबार मन्त्रीबाट राजीनामा दिएका एमाले सांसद लिलाबल्लभ अधिकारीले शुक्रबार पार्टीको जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् ।

प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई पत्र लेख्दै जिम्मेवारीबाट मुक्त गर्न भन्दै निवेदन दिएका हुन् । अधिकारी एमालेको प्रतिनिधि परिषद सदस्य हुन् ।

जापानको टोकियो विमानस्थलबाट डिपोट भएपछि विवादित बनेका अधिकारीले जिम्मेवारी छाडे पनि उनको पार्टी र पार्टीको संसदीय दल मौन छ, बरु अधिकारी आफैंले अनुसन्धानका लागि मार्ग प्रसस्त गरेको भन्दै अभिव्यक्ति दिइरहेका छन् ।

शुक्रबार पार्टीको जिम्मेबारीबाट मुक्त गर्न भन्दै प्रदेश कमिटी अध्यक्ष खतिवडा अधिकारीलाई फसाउन खोजिएको दाबी गर्छन् । ‘….हङकङमा पुगेपछि मात्रै अरु मान्छे छन् भन्ने थाहा भयो भन्ने कुरो गरेपछि त उहाँलाई गलत ढंगले फसाइनु हुँदैन भन्ने कुरामा पहल गर्नुपर्ने नै भयो,’ खतिवडाले भने, ‘अनुसन्धानमा सजिलो बनाउनका लागि सहजीकरण पार्टीले गर्छ ।’


सरकार नै एमालेको नेतृत्वमा भएका कारण अधिकारीमाथि निष्पक्ष छानविन हुनेमा आशंका रहेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् ।

‘ एउटै घटनामा जोडिएका अन्य व्यक्ति हिरासतमा छन्, उहाँले त प्रमाण लुकाउन सक्ने प्रशस्त आधार र सम्भावना छ,’ उनले भने,‘ उहाँलाई यतिखेरसम्म अनुसन्धानको दायरामा ल्याउनुपर्ने हो, तर सरकारले गरेको छैन ।’

न्त्री नै मुछिएको मानव तस्करको जालोको गहिराइमा सरकार पुग्न सक्छ जस्तो नलाग्ने उनले बताए । ‘राष्ट्रको शिर निहुरिने घटनालाई सत्ता साझेदार दलले सामान्य रुपले लिएर यतिकै टुङ्ग्याउन खोजेको देखिन्छ,’ उनले भने, ‘यो घटनाको निष्पक्ष छानबिनमै शंका छ ।’

सांस्कृतिक कार्यक्रममा जाने भन्दै मन्त्रिपरिषदबाट स्वीकृत नगरी जापान हिँडेका मन्त्री अधिकारीसँग गएका अन्य तीन जनासँग नक्कली कागजात भेटिएपछि जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको थियो ।

अधिकारी नेतृत्वको भ्रमण दलका सदस्य भन्दै पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेपा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटालाई जापान विमानस्थलले फर्काएपछि प्रहरीले नियन्त्रणमा लिएको छ, अधिकारीसहित अन्य एक जनालाई भने छाडिएको थियो । यो घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।