बयान दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
१९ भदौ, काठमाडौं । सहकारीको रकम अपचलनमा संसदीय छानबिन समितिलाई बयान दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी र हिनामिना प्रकरणमा प्रहरीले दोस्रो चरणको अनुसन्धानलाई तीव्रता दिने क्रममा लामिछानेसहितका आरोपितसँग बयान लिएको थियो ।
लामिछाने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक थिए, जसले सहकारीमा खाता नै नखोली अवैधानिक रुपमा मिडिया हाउसमा पैसा लगेको पीडितहरुको उजुरी छ ।
यसै विषयमा आधारित रही लामिछानेसँग ७ भदौमा ९ घन्टा बढी संसदीय छानबिन विशेष समितिले सोधपुछ गरेको थियो । समितिले सोधपुछ गरेपछि कास्की प्रहरी काठमाडौं आएर उनीसँग बयान लिएको थियो । लामिछानेले त्यसकै बीचमा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेर भेट गरेका छन् ।


