काभ्रेको महाभारतबाट गर्भवती र सुत्केरीको हेलिकप्टरबाट उद्धार

२६ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाका स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
पछिल्ला दुई दिनको अवधिमा स्वास्थ्य अवस्था गम्भीर भएकी सुत्केरी र गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
आइतबार महाभारत गाउँपालिका–६ बनमुढीकी २५ वर्षीया सुनिता मोक्तान र शनिबार महाभारत गाउँपालिका–१ निवासी २० वर्षीया सुजिता थिङलाई हेलिकप्टबार उद्धार गरी काठमाडौं पुर्याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
उनका अनुसार सुजिता थिङ सुत्केरी पश्चात् पिसाब रोकिने गम्भीर स्वास्थ्य समस्यामा परेकी थिइन् । सुरुमा गोठगाउँ स्वास्थ्य चौकीमा उपचार गराइएको थियो । तर थप जटिलता हुनसक्ने देखिएपछि स्वास्थ्यकर्मीहरूको सिफारिसमा हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, प्रसूति तथा स्त्रीरोग विभागमा पुर्याइएको थियो ।


