आमिर खानले निर्माण गरेको एउटा हिन्दी फिल्म छ, ‘पिपली लाइभ’ । फिल्ममा दुई किसान दाजुभाइको कथा छ । कहिल्यै नसकिने दुःख र कहिल्यै नभरिने पेट बोकेर बाँचेका उनीहरुलाई बैंकको ऋणले थप अत्याएको छ । यस्तो परिस्थितिमा उनीहरुले थाहा पाउँछन् कि कुनै किसानले आत्महत्या गरेको अवस्थामा स्थानीय सरकारले मुआब्जावापत राम्रै पैसा दिनेछ ।

अब सोझा किसान आत्महत्या गर्ने तयारीमा लाग्छन् । यो खबर स्थानीय समाचारदाता हुँदै मूलधारका टेलिभिजनसम्म पुग्छ । सरकारी मुअब्जाका लागि किसानले आत्महत्या गर्ने खबर ती मिडियालाई गजब लाग्छ । र, आत्महत्या गरेको एक्सक्ल्युसिभ समाचार देखाउने होडबाजी चल्छ

भएभरका मूलधारका मिडिया ती किसानको झुपडीमा पुग्छन् । प्रत्यक्ष प्रसारणका लागि ओबी भ्यानको ताँती लाग्छ । अब दर्जनौं क्यामेराले किसानलाई पछ्याउन थाल्छन् । खाना खाँदा होस् वा शौचालय जाँदा कहीं कतै छाड्दैन । किसानलाई आत्महत्या गरेर मर्नुभन्दा हरक्षण पछ्याइरहने क्यामेराबाट जोगिन मुस्किल हुन्छ ।

मूल विषयको संवेदनशीलतालाई ख्यालै नगरी कसरी कसैलाई सेन्सेसनल बनाउने होड चल्छ ? सो फिल्मले छर्लङ्ग देखाउँछ । सन् २०१० मा प्रदर्शित यो फिल्मको प्रसंग अहिले हाम्रो सन्दर्भमा ठ्याक्कै मेल खान्छ ।

जस्तो, सचिन परियारको कुरा गरौं । एउटा अबोध बालक जसलाई सोसल मिडियामा ‘भाइरल’ बनाइयो र सुविस्ताले बाँच्नसमेत दिइएन । न उनलाई लेखपढ गर्न दिइयो, न स्वच्छन्द बाल्यकाल बिताउन । कहिले गाउँमा पुर्‍याउने, कहिले सहरमा ल्याउने । कहिले गीत गाउन लगाउने, कहिले नाच्न । कहिले रुवाउन लगाउने, कहिले हँसाउन । उनी के चाहन्थे ? कस्तो जीवन बाँच्न चाहन्थे ? कसलै सोधीखोजी गरेनन् । बरु कुनैबखत सर्कसमा प्रयोग गरिने प्राणीलाई झैं मान्छेहरुले यी बालकलाई आफ्नो स्वार्थ र सुविधा अनुसार दोहन गर्न थाले । यस्तै धपेडीबीच उनी रोगी भए ।

उनको रोगी शरीरलाई कहिले दोहोरीमा पुर्‍याइयो, कहिले झाँक्रीकहाँ । त्यसलाई भिडियो बनाएर सोसल मिडियामा व्यापक बनाइयो । उनी नाचेको, हाँसेको मात्र होइन, बिरामी भएको, बाटोमा मागेर हिंडेको विषयलाई पनि ‘बिकाउ सामग्री’ बनाइयो ।