मनसुनसँगै डेंगुको प्रकोप : एक महिनामै चार गुणाले बढे संक्रमित

काठमाडौँ । जुलाई (असार र साउन) मा डेंगु संक्रमण ह्वात्तै बढ्यो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक हेर्दा जुनमा ४९५ जनामा संक्रमण देखिएको थियो । तर जुलाईमा यो संख्या १ हजार ९०६ पुगेको छ । मनसुनको समयमा लामखुट्टेको प्रजनन बढेसँगै डेंगुको जोखिम बढेको हो ।
सात प्रदेशमध्ये गण्डकी प्रदेश ७८७ जना संक्रमितसहित सबैभन्दा बढी प्रभावित छ । यस्तै, बागमती प्रदेशमा ५५९ जना, कोशी प्रदेशमा ४७४ जना, लुम्बिनी प्रदेशमा ४३४ जना र सुदूरपश्चिम प्रदेशमा ३२७ जना संक्रमित भएका छन् ।
महाशाखाको आँकडाअनुसार देशभर डेंगुको प्रकोप बढ्दो क्रममा छ । सन् २०२४ को सुरुवातदेखि अगस्ट ६ (साउन २१) सम्मको अवधिमा देशभर २ हजार ६८८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने देशका ७४ जिल्लामा प्रकोप फैलिएको छ ।
विगत वर्षको डेंगु संक्रमण दर हेर्दा असार, साउन, भदौ, असोज र कात्तिक डेंगु फैलावटको उच्च जोखिम हुने महिना हुन् । यस अवधिमा यो वर्ष ६० हजारभन्दा धेरै डेंगु संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ । ‘समुदायमा भने वास्तविक संख्याभन्दा १० गुणा बढी संक्रमित हुन सक्छन्,’ महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले बताए । उनका अनुसार १० हजार जना संक्रमित हुँदा करिब १ हजार जनामा डेंगु देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगुको बढ्दो संक्रमण रोक्न साउनलाई ‘डेंगु सचेतना महिना’ मानेको छ । मनसुनको सुरुवातसँगै जोखिम उच्च हुने हुँदा रोकथाम र नियन्त्रणका लागि पूर्वतयारीस्वरूप अभियान सुरु गरिएको बताए मन्त्रालयले बताए पनि संक्रमण भने रोकिएको छैन ।
संघीय सरकारबाट डेंगु फैलिन नदिन २०८२/८३ का लागि १ करोड २० लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट कोशीमा २३ लाख ७५ हजार, मधेसमा १९ लाख, बागमतीमा १२ लाख ३५ हजार, गण्डकीमा १९ लाख ९५ हजार, लुम्बिनीमा २२ लाख ८० हजार, कर्णालीमा १८ लाख ५ हजार र सुदूरपश्चिम प्रदेशमा २३ लाख ७५ हजार रुपैयाँ छ ।
यस्तै देशभरका स्थानीय तहहरूले पनि ४ करोड ६५ लाख ९३ हजार रुपैयाँ विनियोजन गरेका थिए ।
नेपालमा डेंगुको अवस्था
२०६१ सालमा नेपालमा पहिलो पटक चितवनमा एक विदेशी नागरिकमा डेंगु पहिचान भएको थियो भने ०६३ सालमा चितवनमा डेंगुको प्रकोप पहिलो पटक देखिएको थियो । ०६७, ०७०, ०७३, र २०७६ सालमा विभिन्न जिल्लामा प्रकोप देखापरेको थियो । आर्थिक वर्ष ०७९/८० मा ५६ हजार ३३८ जना डेंगुबाट संक्रमित भएका थिए भने ८८ जनाको मृत्यु भएको थियो । ०८०/८१ भने घटेर ४८ हजार ८८३ जना संक्रमित देखिए भने २० जनाको मृत्यु भएको थियो ।
विश्वव्यापी अवस्था
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ को अप्रिलसम्म विश्वभर ७६ लाखभन्दा बढी डेंगुका केस रिपोर्ट भएका छन्, जसमध्ये ३४ लाख केस प्रयोगशालाबाट पुष्टि भएका छन् र ३ हजारभन्दा बढीको मृत्यु भएको छ ।
एडिस लामखुट्टेको करिब ८० प्रतिशत जीवनचक्र (अण्डा, लार्भा, र प्यूपा अवस्था) पानीभित्र वा पानीको सतहमा हुने हुँदा मूल स्रोतलाई निर्मूल नगरी उडिरहेका वयस्क लामखुट्टेलाई मात्रै मारेर डेंगु नियन्त्रण नहुने मन्त्रालयको भनाइ छ ।
डेंगु कस्तो रोग हो ?
डेंगु एक भाइरल रोग हो, जुन डेंगु भाइरसबाट संक्रमित एडिस जातको लामखुट्टेको टोकाइबाट सर्छ । नेपालमा हालसम्म डेंगुका ४ वटै ‘सेरोटाइप’ (प्रकार) पुष्टि भएका छन् । संक्रमितहरूमा ‘सेरोटाइप’ १, २ र ३ बढी देखिएका छन्, जसमध्ये सबैभन्दा बढी प्रकार ‘३’ देखिएको छ ।
एडिस लामखुट्टेले डेंगुसँगै चिकुनगुनिया, जिका र पहेँलो ज्वरोजस्ता अन्य भाइरल रोगहरू पनि सार्दछ । डेंगु रोग सँगै बस्दा, कुरा गर्दा वा सुत्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो संक्रमित एडिस जातको पोथी लामखुट्टेले टोकेको अवस्थामा मात्र सर्छ ।
अधिकांश अवस्थामा डेंगुमा सामान्य लक्षणहरू मात्र देखिन्छन्, तर करिब पाँच प्रतिशत संक्रमितहरूमा जटिल प्रकृतिका लक्षणहरू देखा पर्न सक्छन् । जसको समयमै पहिचान र व्यवस्थापन नगरेमा ज्यानसमेत जोखिममा पर्न सक्ने सरुवा रोग विशेषज्ञहरू बताउँछन् ।
डेंगु भाइरसका चारवटा स्वरूप (सेरोटाइप) हुन्छन् । यीमध्ये जुनसुकै सेरोटाइपबाट पनि संक्रमण हुन सक्छ । एउटा सेरोटाइपबाट संक्रमण भएपछि जीवनभरका लागि सो सेरोटाइपविरुद्ध प्रतिरोधात्मक क्षमता विकास हुन्छ, तर पछि अर्को सेरोटाइपको संक्रमण भयो भने गम्भीर डेंगु हुने जोखिम बढ्न सक्छ ।
यस्तै, डेंगुको संक्रमण एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले मन्त्रालयले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न विशेष आग्रह गरेको छ । ‘खोज र नष्ट’ अभियानलाई प्रभावकारी बनाउन घर, कार्यालय र समुदाय वरपर रहेका टायर, भाँडाकुँडा, कुलर, गमला जस्ता ठाउँमा पानी जम्न नदिन मन्त्रालयले आग्रह गरेको छ ।
एक्कासि उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, टाउको र शरीरमा असह्य पीडा हुनु, शरीरमा बिमिरा देखिनु वा रगत बग्नु जस्ता लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न मन्त्रालयले आग्रह गरेको छ ।


