मकवानपुर ,राक्सिराङ ।

पुनर्जीवनको २१ बर्ष ।
आज असोज ४ गते, मेरो जीवनको एक महत्त्वपूर्ण दिन । एक सम्झना लायकको दिन । अझ यसरी सिधा भनौं न एक अबोध बालक मरेर बाँचेको दिन ।

२०६० असोज ४ गते, बिहान करिब ८:४५ तिर बेबहारिसे फालिएको बिस्फोटक वस्तु खेलाउदा सशक्त घाइते भएँ । सिङ्गो गाउँ नै थर्किने गरि पड्किएको त्यो विस्फोटक वस्तुले गाउँभरी सन्नाटा ल्याएको थियो । एउटा १२ वर्षको बालक मृत्युसँग लडिरहेको थियो । बेहोस मै भए पनि म बाच्छु मलाई हस्पिटल लैजाउ भन्दै चित्कार गर्दै थिएँ रे तर गाउँका मानिसहरू भने यसको बाच्ने उपाय छैन, पानीमा बिष घोलेर पिलाइदेउ यसको बाटो लाग्छ भन्दै थिए रे । अहिले त्यो समाज र त्यहाँका मान्छेहरूले त्यसो भनेको रे भनेर सुन्दा र बुझ्दा कति निर्दयी रहेछन् भन्ने जोकोहीलाई लाग्न सक्छ । तर त्यो बेलाको परिस्थितिले त्यही भन्न र गर्न बाध्य पारेको थियो । तल बजारबाट गाउँ र गाउँदेखि बजार आवतजावत गर्न सर्वसाधारण मानिसको लागि निकै कठिन थियो । अझ एउटा विस्फोटमा परेको घाइते बालकलाई बोकेर बजार छिचोल्ने काम बाघको मुखमा पस्न जानू जस्तै थियो । ठुलो त्रास थियो, ठाँउको ठाउँ सिध्याइदिन्छ भन्ने सबैमा थियो । त्यसैले अधिकांशले त्यसो भन्नु स्वभाविक थियो ।तर आमा र ठुली दिदिले त्यसो गर्न मानेनन् र यो कथा यहाँसम्म लम्बियो । अनेक अध्यायहरू पार गर्दै यहाँसम्म आइपुग्यो ।

यहाँसम्मको यात्रा तय हुनुमा धेरै जनाको साथ र सहयोग पाएको छु, धेरैलाई यसै पोस्टमार्फत साम्झेको छु । परिवार, आफन्त, इष्टमित्र, सबै सबैलाई धन्यवाद भन्न चहान्छु । निभ्न लागेको दियोलाई हत्केलाले छेकेर बल्न दिने आमा र दिदीलाई आज त्यही दियोले उज्यालो दिन सुरु गरेको महसुस हुनुपर्छ । उहाँहरूको त्यो बखतको सहासलाई सदा उच्च सम्मान गर्नेछु । जति नै ठुलो भए वा बनेता पनि उहाँहरूको सामु यो शिर झुकाउनेछु, उहाँहरूको सम्मान गर्ने छु ।